बैतडी-जल तथा मौसम विज्ञान विभागले बैतडी जिल्लालाई मनसुनजन्य विपद्को जोखिमयुक्त सूचीमा राखेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले आम सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
विभागले आज २५ गते देखि आगामी असार २७ गतेसम्म बैतडीलाई सतर्क हुनुपर्ने जिल्लाका रूपमा नक्साङ्कन गरेपछि प्रशासनले विशेष ध्यान दिन आग्रह गरेको हो। मौसम पूर्वानुमान महाशाखाको चेतावनी नक्सा अनुसार बैतडीसहित सुदूरपश्चिमका केही जिल्लाहरूमा भारी वर्षा र त्यसका कारण बाढी, पहिरो तथा डुबान जस्ता मनसुनजन्य विपद्को सम्भावना रहेको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गर्दै सम्भावित जोखिमबाट बच्नका लागि सबै आम जनसमुदायलाई सतर्कता अपनाउन, नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका स्थानहरूमा विशेष ध्यान दिन र अनावश्यक रूपमा जोखिमपूर्ण यात्रा नगर्न अनुरोध गरेको छ।
साथै, विपद्को समयमा तत्काल उद्धार र राहतका लागि स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालाहरूलाई पनि तयारी अवस्थामा रहन आग्रह गरिएको छ। मौसममा थप गडबडी आएमा वा आकस्मिक विपद् आइलागेमा ढिला नगरी नजिकको सुरक्षा निकाय वा स्थानीय प्रशासनमा सम्पर्क गर्न समेत सूचित गरिएको छ।





