बैतडी –बालविवाह न्यूनीकरणका लागि विभिन्न प्रयासहरु भइरहेका भएपनि बैतडीमा अझै बालविवाह न्यूनीकरण हुन सकेको छैन् । कानुनले २० बर्ष मुनिको विवाहलाई बालविवाह मानेको छ ।
२० बर्ष मुनिको विवाह गैरकानुनी भएपनि बालविवाह गर्ने क्रम नरोकिएको तथ्यांकले देखाएको छ । चालु आर्थिक बर्षमा बैतडीमा २० बर्षमुनिका गर्भवती आमाहरुको संख्या ११ प्रतिशत रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए ।
जिल्लाभरी एक बर्षको अवधिमा झण्डै ३ हजार ६ सय जना गर्भवती रहेका र ती मध्ये ११ प्रतिशत २० बर्ष मुनिका रहेका पाइएको उनले बताए ।
स्वास्थ्य संस्थामा गर्भ चेकजाँच गराउन आउने गर्भवती आमामध्ये जिल्लाभरीका ११ प्रतिशत २० बर्ष मुनिका रहेका सूचना अधिकारी कार्कीले बताए । गत आर्थिक बर्षमा जिल्लाभरी कुल गर्भवतीमध्ये ९ प्रतिशत २० मुनिका रहेक थिए । यस्तै आर्थिक बर्ष २०८०÷८१ मा ७ प्रतिशत २० बर्ष मुनिका गर्भवती रहेका थिए ।
२० बर्ष मुनिका गर्भवतीको संख्या हेर्दा सिगास गाउँपालिकामा सबैभन्दा बढी देखिएको छ । सिगासमा कुल गर्भवतीको २१ प्रतिशत २० बर्ष मुनिका रहेका छन् ।
यस्तै दोगडाकेदार गाउँपालिकामा १६ प्रतिशत, सुर्नया गाउँपालिकामा १३ प्रतिशत, पुर्चौंडी नगरपालिकामा १२ प्रतिशत, मेलौली नगरपालिकामा ११ प्रतिशत,पञ्चेश्वर गाउँपालिकामा १० प्रतिशत, डिलाशैनी गाउँपालिकामा ९ प्रतिशत, शिवनाथ गाउँपालिकामा ८ प्रतिशत, दशरथचन्द नगरपालिकामा ६ प्रतिशत र पाटन नगरपालिकामा ६ प्रतिशत गर्भवती २० बर्ष मुनिका रहेका सूचना अधिकारी कार्कीले बताए ।
पछिल्लो समयमा भागी विवाहका कारण बालविवाह गर्नेको संख्या बढ्दै गएको छ । बालविवाहका कारण सानै उमेरमा आमा बन्नुपर्ने र यसले विभिन्न खालका स्वास्थ्य जोखिमहरु निम्तिने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. अरविन्द जोशीले बताए ।
बालविवाह न्यूनीकरणका लागि बहुपक्षीय प्रयास भएमात्रै रोक्न सकिने बालविवाह न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको संस्था परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् ।
बालविवाह सम्बन्धीको कानुन प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा ग्रामीण क्षेत्रमा बालविवाह गर्नेको संख्या अझै बढीरहेको भट्टले बताइन् ।
भौगोलिक विकटता, अन्धविश्वास, कानुनी चेतनाको अभाव र सामाजिक सञ्जालको दुरुपयोगका कारण बालविवाह भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए ।





