बैतडी - सुदूरपश्चिमको ऐतिहासिक र सांस्कृतिक धरोहरको रूपमा रहेको बैतडी जिल्लाको सदरमुकाम गडी, अहिले आफ्नो पहिचान र प्राचीन कलालाई गुमाउँदै गएको छ । विशेषगरी, गडी क्षेत्रको इतिहास बिउँझाउने वास्तुकला र कलात्मक संरचनाहरू समयको बहाव र संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् ।
बैतडी जिल्लाको सदरमुकाम गडी क्षेत्रको इतिहास सुदूरपश्चिमकै ऐतिहासिक कडीहरूसँग जोडिएको छ । मध्यकालमा कत्युरी र चन्द राजाहरूको शासन केन्द्र बैराठ अर्थात बैतडीको गडी क्षेत्रमा निर्मित पुराना भवन र काष्ठकलाहरू केवल संरचना मात्र नभएर यहाँको ऐतिहासिक वैभवका साक्षी समेत मानिन्छ । "चन्द र कत्युरी राजाको शासन कालीन वास्तुकलाको प्रभाव" मध्यकालमा कमान अर्थात भारतको उत्तराखण्ड र बैतडी क्षेत्रमा चन्द राजाहरूको बलियो प्रभाव थियो । चन्द राजा त्रिलोक चन्द र कल्याण चन्दका पालादेखि नै यहाँ किल्ला (गढी) र दरबारहरू बनाउने परम्परा सुरु भएको बताइन्छ ।
तत्कालीन किल्ला गडी क्षेत्रका पुराना घरहरूमा कुँदिएका देवी-देवताका मूर्ति, हात्ती, र बुट्टाहरूमा कुमाउनी र खस वास्तुकला रहेको स्थानीय जानकारहरुले बताउने गरेका छन । बैतडीको इतिहास झल्काउने गडीका बास्तुकलामा जंगली जनावरका सिङ र माटोको घैँटो अर्थात कलशको रहस्य झनै रोचक छ । काठको बुट्टेदार झ्यालको बीचमा जंगली जनावर जरायो वा मृगको सिङ र माटोको घैँटो झुन्ड्याउने परम्परा प्राचीन तान्त्रिक र लोक-विश्वाससँग जोडिएको स्थानीय बुढापाखाले बताउने गर्छन । पहाडी क्षेत्रमा घरको मुख्य ढोका वा झ्यालमा जनावरको सिङ राख्नुलाई भुत प्रेत, खराब नजर र प्राकृतिक विपत्ति बाट घरलाई जोगाउने रक्षाकवच मानिने हुनाले यसको प्रयोग गरिएको त्रीपुरा सुन्दरी मन्दिरका मुल पुजारी गोविन्द लेखकले बताए ।
माटोको घैँटो कलशलाई समृद्धि र शुभ-संकेतको प्रतीकका रूपमा लिइन्छ । जसले घरमा अन्न र धनको कहिल्यै अभाव नहोस् भन्ने कामना झल्काउने जन विश्वास रहेको छ । यसमा स्थानीय 'ढुम्सी' वा 'चासी' काठको प्रयोग गरेको पाइन्छ ।सुदूरपश्चिमका ऐतिहासिक दरबार र पुराना मन्दिरहरूमा प्रयोग भएका काठहरू विशेष हुन्थे । पुराना कालिगढहरूले स्थानीय भाषामा ढुम्सी वा चासी भनिने मजबुत काठको प्रयोग गर्थे । यो काठको बारेमा एउटा रोचक लोक-भनाइ अनुसार ढुम्सी वा चासी काठ बाघ जत्तिकै बलियो हुन्छ र यसको आयु ३००० वर्ष हुन्छ । जसको मापन १००० वर्ष रुख भएर उभिन्छ भन्ने रहेको छ भने १००० वर्ष काठ भएर घर थाम्छ र १००० वर्ष पानीभित्र रहँदा पनि कुहिँदैन भन्ने मान्यता रहेको छ ।
बैतडी जिल्लाको गडी क्षेत्रका आँखिझ्यालहरू सयौँ वर्षसम्म पनि किरा नलागी टिक्नुको रहस्य यही विशेष काठ र तत्कालीन कालिगढहरूको काष्ठकला सम्बन्धी उच्च ज्ञान रहेको स्थानीय जानकार पदम भट्टले बताए । "ढुङ्गाको स्लेट पाटा र माटोको गारोको इन्जिनियरिङको रहस्यमा लुकेको काष्ठकला" गडी क्षेत्रका परम्परागत घरहरू स्थानीय ढुङ्गा, माटो र काठको संयोजनबाट बनेका छन । छानामा प्रयोग हुने गरौँगा ढुङ्गाका स्लेटहरू जसलाई स्थानीय भाषामा पाटा अर्थात पत्तथर भनिन्छ । यसमा काठका ठुला-ठुला निदालको सन्तुलन मिलाएको हुनाले तत्कालीन समय देखि हालसम्मका भुइँचालोहरू सहजै झेलेका छन । यी घरहरू गर्मीमा चिसो र जाडोमा न्यानो हुने प्राकृतिक थर्मल विशेषतायुक्त रहेका छन ।
बैतडीको गडी क्षेत्रमा रहेका यस्ता ऐतिहासिक घरहरू केवल 'पुराना संरचना' मात्र नभएर सुदूरपश्चिमको पहाडी जीवनशैली, प्राचीन व्यापारिक केन्द्रको इतिहास र तत्कालीन सिल्पकारहरूको कला सिकाउने जीवन्त सङ्ग्रहालय भएका स्थानीयहरुले बताएका छन । बेलैमा गडी क्षेत्रका ऐतिहासिक काष्ठकला अभिलेखीकरण र संरक्षण नगरिए बैतडी जिल्लाको इतिहासको एउटा स्वर्णिम पाना सधैँका लागि गुम्ने स्थानीय जानकारहरुले बताउने गरेका छन ।





