Sagun Khabar
दैजी–जोगबुढा सडक प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री भट्ट

डडेल्धुरा –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दैजी–जोगबुढा सडक निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखिसकेको बताएका छन् । 

डडेल्धुरा उद्योग वाणिज्य संघसँगको छलफलका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकारको छोटो कार्यकाललाई स्मरणीय बनाउने गरी परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले उद्योग वाणिज्य संघले उठाएका विकास निर्माण, उद्योग व्यवसाय तथा जिल्लाको समग्र विकाससँग सम्बन्धित विषयहरू महत्वपूर्ण रहेको भन्दै ती सबै विषयलाई गम्भीरताका साथ लिने बताए ।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशलाई सुशासनको केन्द्रका रूपमा स्थापित गर्ने गरी प्रदेश सरकार अघि बढिरहेको बताउँदै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन आवश्यक सुधार गरिने उल्लेख गरे । 

उनले प्रदेशको आर्थिक तथा भौतिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउँदै उद्योगी–व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकार सकारात्मक रहेको धारणा राखे । 

छलफलमा उद्योग वाणिज्य संघका पदाधिकारीहरूले डडेल्धुराको सडक, पूर्वाधार, उद्योग–व्यवसाय, पर्यटन तथा आर्थिक विकाससँग सम्बन्धित विभिन्न विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update