Sagun Khabar
फाल्ङ्गा सैनी भगवती मन्दिरको बलिबारे भ्रममा नपर्न मन्दिर समितिको आग्रह, पुराना विधि अनुसार नै जात्रा हुने

बैतडी - बैतडीको सुर्नया गाउँपालिका–५ स्थित फाल्ङ्गा सैनी भगवती मन्दिरमा नवरात्रको महाअष्टमीका दिन हुने जात्रा र बलि सम्बन्धी फैलिएको अफवाह तथा भ्रमप्रति मन्दिर व्यवस्थापन समितिले ध्यानाकर्षण गराएको छ ।   

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डम्मर सिंह धामीद्वारा जारी सूचना अनुसार नवरात्रको अवसरमा अष्टमीका दिन एउटा मात्र राँगा बलि दिइने भनी सामाजिक सञ्जाल तथा सर्वसाधारणबिच फैलाइएको सूचना असत्य र भ्रमपूर्ण रहेको स्पष्ट पारिएको छ ।   

मन्दिरमा पुराना प्रचलित विधि, विधान र हालसम्म कायम रहँदै आएको परम्परा अनुसार नै बलि चढाई जात्रा सञ्चालन हुने समितिले जनाएको छ ।   धार्मिक आस्था, मौलिक परम्परा, सांस्कृतिक पहिचान र सामाजिक सद्भावलाई कायम राख्दै विवादरहित वातावरणमा जात्रा सम्पन्न गर्न भक्तजन, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूमा आपसी समझदारी र सहकार्यका लागि समितिले अपिल गरेको छ ।   

यस वर्षको नवरात्रको अवसरमा महाअष्टमीका दिन हुने प्रसिद्ध जात्रा आगामी कात्तिक १ गते हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।   

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  १०:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update