डडेल्धुरा – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकहरुको सहयोगका लागि डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकल बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ ।
पोलिक्लिनिकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गरेको हो । बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको पोलिक्लिनिककी डा. निर्मला भट्टले जानकारी दिइन् ।
पोलिक्लिनिककी डा. भट्टले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको बताइन् ।
डडेल्धुरा सदरमुकाममा डेढ दशकदेखि सञ्चालनमा रहेको चिरञ्जिवी पोलिक्लिनिकले जिल्लावासीलाई विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा सामाजिक क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको पोलिक्लिनिकले जनाएको छ ।




