Sagun Khabar
दुर्गा पक्षको दोश्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै 

बैतडी –बडादशैँको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ ।  नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा रही आएको छ । 

तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो । शान्त र मग्न भएर तपमा लीन भइरहने दुर्गालाई ब्रह्मचारणी भनिएको हो । कठोर तपस्याका कारण माता ब्रह्मचारणीको मुहार तेजयुक्त भएको पुराणमा उल्लेख छ ।

कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ । ब्रह्मचारणीलाई योगसाधिकाको रूपमा पनि पूजाआज गर्ने गरिन्छ । आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ ।

नवरात्रका अवसरमा विशेषगरी महाकाली, महालक्ष्मी र  महासरस्वतीको पूजा आराधना गरिन्छ । नवरात्रका समयमा जमरा राखिएका दशैँघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ ।

नवरात्रका९ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन् ।

बैतडीमा देवीका मन्दिर तथा अन्य मन्दिरहरुमा भक्तजनको घुइचो लागेको छ । दशैंको बेला सबै मन्दिर तथा शक्तिपीठहरुमा पूजाआजा सहित जात्रा हुने भएकाले दर्शनार्थीहरुको घुइचो लागेको हो ।
 

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  ०८:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update