फाल्ङाशैनी भगवती मन्दिरको जात्रा शुरु

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–५ स्थित फाल्ङाशैनी भगवती मन्दिरको जात्रा शुरु भएको छ । 

यो मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । स्थानीय भाषामा भवानी जात्रा भनेर चिनिने फाल्ङाशैनी भगवती मन्दिरमा आज रतेडी र भोलि दिउसेडी मेला लाग्ने स्थानीयहरुले बताएका छन् । 

यो जात्रामा राँगाको बलि दिने प्रचलन रही आएको छ । आज मन्दिरमा राँगा बाँधिने र भोलि बलि दिने परम्परा रही आएको मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए । 

खेत जोत्ने बेला हलोबाट उत्पन्न भएकी हुनाले भगवतीलाई फाल्ङाशैनी भनिएको पूजारी भट्टले बताए । पहिला–पहिला यस क्षेत्रका दर्शनार्थीहरु भगवतीको पूजाआराधनाका लागि निङ्गलाशैनी मन्दिरमा पुग्ने गर्दथे । पछि रौलेश्वरमै भगवती उत्पन्न भएकाले यहाँ नै जात्रा र पूजापाठको चलन चलेको पूजारी भट्टले बताए । 

भवानी जात्रामा किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको विक्रि वितरण हुने गरेको छ । प्याजको बेर्ना लगायत अन्य कृषि उपजहरुको यो जात्रामा कारोबार हुने गरेको स्थानीय नवराज मडैले बताए । 

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १३:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update