बैतडी–बैतडीको पाटन नगरपालिका–६ स्थित प्रसिद्ध उदयदेव मन्दिरको यही कार्तिक १ र २ गते हुने भएको छ । मैतड जात भनेर प्रसिद्ध रहेको उदयदेव मन्दिरमा राँगाको बलिसहित जात्रा हुने गरेको छ ।
तिथी घटबढका कारण केही द्विविधा रहेपनि उदयदेव मन्दिरमा कार्तिक १ गते महाष्टमीको पूजा हुने र कार्तिक २ गते महानवमीको अवसरमा बलिसहित जात्रा हुने मन्दिरका सहायक पूजारी लवदेव जोशीले बताए ।
यो बर्ष कार्तिक १ र २ गते दुवै दिन महाष्टमी तिथी परेको छ । तर उदयदेव मन्दिरमा कार्तिक २ गते नै महानवमीको जात्रा हुने जोशीले बताए । तिथी गणनाको हिसाबले कार्तिक १ महाष्टमी र २ गते महानवमी मनाइने उनले बताए ।
उदयदेव मन्दिरमा हरेक बर्ष महाष्टमी र महानवमीको दिन ठूलो जात्रा लाग्ने गर्दछ ।
जात्रालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि जात्रा लाग्ने क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको सिद्धनाथ उदयदेव धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष चमनकुमार भण्डारीले बताए ।
कार्तिक १ र २ गतेका दिन लाग्ने जात्रालाई भव्य रुपमा सम्पन्न गर्नका लागि समितिकातर्फबाट सबै तयारी भइरहेको उनले बताए ।
उदयदेवका जात्रामा टाढा–टाढाका भक्तजनहरु समेत दर्शनका लागि आउने गरेका छन् ।




