बैतडी –बैतडीको सुर्नया गाउँपालिका–६ कोखेतस्थित प्रसिद्ध सिगास धाम वरदानी शिलाको रुपमा परिचित रहेको छ । सिगास गाउँपालिकामा रहेको सिगास धुरालाई सिगासको शिर मानिएको छ भने सुर्नयामा रहेको सिगास पनि सोही धामको अंश रहेको जानकारहरुले बताएका छन् ।
भगवान शिवको शान्त स्वरुपलाई सिगास भन्ने गरिएको जानकारहरु बताउँछन् । कोखेतस्थित घना जंगलमा अवस्थित सिगास धामलाई वरदानी शिलाको रुपमा लिने गरिएको मन्दिरका पूजारी गणेशदत्त अवस्थीले बताए । सिगास धाममा पूजाअर्चना गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
शरदीय नवरात्रमा दशैंको पञ्चमी तिथीमा सिगासको शीर भागमा पूजा लाग्ने गर्दछ । पञ्चमीको जात्रा भएपछि मात्रै दशैँको जात्रा हुने गरेको कैलपाल देवताका धामी नवराज अवस्थीले बताए । पञ्चमीको दिन शीरमा भागमा पूजा लागेपछि दशैँको राति सिगास मन्दिरमा धुमधाम जात्रा हुने गरेको उनले बताए ।
यस्तै सिगास धाममा हरेक बर्ष बिसुको दिन पनि जात्रा हुने गर्दछ । नयाँ बर्षको शुरुमा भगवान शिवको पूजाआराधनासहित सिगास मन्दिरमा जात्रा हुने गरेको अवस्थीले बताए ।
सिगास धामको दर्शन गर्नका लागि चोखोभोको रहेर दर्शन गर्नुपर्ने परम्परा रही आएको छ । सिगास धामको आसपासमा गुफा समेत रहेको र सो गुफालाई पनि सिगासकै गुफाको रुपमा मान्ने गरिएको छ ।
सिगास देवताको प्रवक्ताको रुपमा कैलपाल देवता रहेको र सिगासका वाणी कैलपाल देवताले बोल्ने जनविश्वास रही आएको बताइन्छ । परापूर्व कालमा फुट्लिङ्ग शिलाको रुपमा प्राप्त भएको सिगास देवतासंग शक्ति समेत रहेको बताइएको छ । शिवसंगै शक्ति पनि भएकाले दशैंको समयमा सो मन्दिरमा पूजाआजा हुने गरेको बताइएको छ । शरदीय नवरात्रमा शिव र शक्तिको दुवैको उपासना हुने भएकाले दशैँको समयमा सिगास मन्दिरमा जात्रा हुने गरेको जानकारहरुले बताएका छन् ।
मनोकामना पूर्ण गर्ने देवताको रुपमा सिगास देवता रहेकाले स्थानीयहरुले श्रावणको महिना समेत पूजाआजा गर्ने गरेका छन् । सिगास देवताको आसपासमा भेलेलिङ्ग, कैलपाल, भूमिराज, अनिरुद्र लगायतका देवताहरुको बासस्थान रहेको स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन् ।
सिगास मन्दिरको जात्राका लागि बसाइँसराइ गरेर गएकाहरु पनि थातथलोमा फर्कने गरेका छन् । ‘अबोल अचल’शीलाको रुपमा सिगास देवताको पूजाआजा गर्ने गरिएको पूजारी अवस्थीले बताए ।




