बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवतीको जात्रा यही असोज ३१ र कार्तिक १ गते हुने भएको छ ।
घटस्थापनाका दिन सामूहिक जमरा राखेर मन्दिरमा नित्य पूजा आराधना भइरहेको निङ्गलाशैनी भगवती मन्दिरका मुख्य पूजारी देवदत्त भट्टले बताए ।
निङ्गलाशैनी भगवती मन्दिरमा दशैँको समयमा पशुबलिसहित जात्रा हुने गरेको छ । महासप्तमीका दिन राँगा बाँधिने र महाष्टमीका दिन राँगाको बलिसहित जात्रा मनाउने चलन रही आएको छ ।
यो बर्षको महासप्तमी असोज ३१ गते र महाष्टमी कार्तिक १ गते परेको मन्दिरका पूजारी लोकराज भट्टले बताए । घटस्थापनाका दिनदेखि नित्य पूजा हुने निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमीमा बलिसहित जात्रा हुने गरेको छ ।
निङ्गलाशैनी भगवतीको जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष एवं मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । मन्दिरमा लाग्ने जात्रालाई भव्य र सभ्य रुपमा मनाउन मन्दिर आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको उनले बताए ।
निङ्गलाशैनी भगवतीको दर्शनका लागि यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् ।
निङ्गलाशैनी भगवती मन्दिरमा एक बर्षमा चार पटक जात्रा लाग्ने गर्दछ । असोजको महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने गर्दछ ।
मंसिर शुक्ल पूर्णिमा अर्थात धान्य पूर्णिमा र भाद्र शुक्ल चतुर्दशी अर्थात अनन्त चतुर्दशीका दिनमा पनि यो मन्दिरमा जात्रा लाग्ने गर्दछ । यो बेलाको जात्रामा भने बलि दिने चलन नरहेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ ।




