Sagun Khabar
पर्यटकको पर्खाइमा बैतडीको ‘दुधकण्ड’

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका १ कलौनस्थित दुधकुण्डको महत्वको बारेमा धेरैलाई थाहा छैन् । तर यसको सम्बन्ध बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवतीसंग जोडिएको छ । स्थानीयहरुको अनुसार परापूर्वकालमा दुधको धारा भएको हुनाले यो ठाउँको नाम दुधकुण्ड रहन पुगेको हो । ‘पहिला पहिला यसै धाराको पानीले निङ्गलाशैनी भगवतीको मन्दिरमा पूजाआजा हुन्थ्यो । दुधकुण्डमै पाकेको हबि मन्दिरमा चढ्थ्यो भन्ने किम्वदन्ती छ ।’स्थानीय माधवप्रसाद भट्टले भने, ‘यो दुधकुण्डको बारेमा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।’

दशैंको समयमा निङ्गलाशैनी भगवतीको दर्शनका लागि हजारौं भक्तजनहरु आउने गर्दछन् । उनीहरुलाई यो दुधकुण्डका बारेमा जानकारी गराउन सकियो भन्ने आन्तरिक धार्मिक पर्यटक भित्र्याउन सकिने भट्टले बताए । 

दुधकुण्डलाई स्थानीयहरुले लमखेत धारा पनि भन्ने गरेका छन् । सो ठाउँमा अहिले स–साना मन्दिरहरु बनाएर प्रचारप्रसारका लागि प्रयास शुरु गरिएको स्थानीय अम्बादत्त बडुले बताए । उनले भने ‘अहिले कलौनस्थित निङ्गलाशैनी भगवती मन्दिरमा यही धाराको पानीले पूजाआजा हुने गरेको छ ।’

Atrya hospital

दुधकुण्डको वरीपरी मन्दिरहरु रहेका छन् । दुधकुण्डको ५ किलोमिटर सेरोफेरमा प्रसिद्ध धार्मिक स्थलहरु रहेकाले यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने आन्तरिक पर्यटन पुनर्उत्थान समितिका सुदूरपश्चिम संयोजक मायाप्रकाश भट्टले जानकारी दिए । उनले भने ‘हामीले सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय स्थलहरुलाई नयाँ गन्तव्यको रुपमा पहिचान गर्ने तयारी गरेका छौं । दुधकुण्डलाई पनि धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्छ ।’

पाताल भुवनेश्वर धाम र निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गर्नेहरुलाई दुधकुण्ड सम्म पुर्याउन सकिने उनले बताए । उनले भने ‘दुधकुण्डमा अहिले पनि पौराणिक कुराहरु छन् । यो ठाउँको पानी जहिले पनि घटबढ हुँदैन् । एकनासको पानी हिउँदमा तातो र गर्मीमा चिसो रहने गर्दछ ।’

दुधकुण्डलाई प्रचारप्रसारमा ल्याउन र यसको महत्व झल्काउन दशरथचन्द नगरपालिका वडा नं १ को कार्यालयले केही पहल गरेको छ । सो ठाउँमा स्थानीयहरुले ब्रतबन्ध जस्ता सामाजिक कार्यहरु पनि गर्ने भएकाले धर्मशालाको व्यवस्था गरिएको छ भने पञ्चायन देवताको मन्दिर पनि निर्माण गरिएको छ । 

दुधकुण्डमै गौराको समयमा बिरुडा समेत धुने चलन रही आएको छ । दुधकुण्ड भगवतीको बासस्थान भएकाले यसको धार्मिक महत्व अझै बढी रहेको स्थानीय भानदेव भट्टले बताए । 

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update