Sagun Khabar
गाउँगाउँमा ज्वरोका बिरामी, पिसीआर परीक्षण गर्न डा. जोशीको आग्रह 

बैतडी–जिल्लाको सुर्नया गाउँपालिका ७ की जानकी महरालाई ज्वरोले च्यापेको एक हप्ता पुग्नै लागेको छ । रुघाखोकी, टाउको दुख्ने, हातखुट्टा दुख्ने लक्षण सहित उनलाई ज्वरोले थला परेको छ । ज्वरोले थला परेको एकहप्ता बितिसक्दा समेत उनलाई बिसेक भएको छैन् । 

जिल्लाको सिगास गाउँपालिका ९ का रामसिंह महरालाई पनि ज्वरो आएको एक हप्ता पुगिसकेको छ । रुघाखोकी सहितको ज्वरो आएपछि उनलाई पनि बिसेक भएको छैन् । उनले भने ‘ज्वरो आएको एक हप्ता भईसकेको छ । सिटामोल खाईरहेको छु । अझै ज्वरो कम भएको छैन् । पेट दुख्ने, हात खुट्टा दुख्ने गरेका छन् ।’

जिल्लाका विभिन्न स्थानका गाउँमा एकै लक्षण भएका ज्वरोका बिरामी बढ्दै गएका सुर्नया ४ का हरिना महराले बताइन् । उनले भनिन् ‘गाउँभरीका धेरै मानिस ज्वरोका शिकार भएका छौं । रिङटा लाग्ने, शरीर दुख्ने र ज्वरो आउने भएकाले साह्रै समस्या भएको छ । गाउँमा ज्वरोले सबैलाई सताएको छ ।’

Atrya hospital

जिल्लामा ज्वरोका बिरामीहरु धेरै भएपनि उनीहरुको परीक्षण हुन सकेको छैन् । स्वास्थ्य संस्थाहरुबाट पाइने सिटामोल खाएर ज्वरो बिसेक हुने आसामा बिरामीहरु छन् । जिल्लाका सबै जसो ठाउँमा ज्वरोका बिरामी बढेको खबर आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए । उनले भने ‘जिल्लाका सबै जसो ठाउँमा ज्वरोका बिरामी छन् भन्ने सुनिएको छ । ज्वरोका बिरामीहरुलाई पीसीआर परीक्षण गराउन म आग्रह गर्न चाहन्छु ।’

अहिले कोरोना भाईरसको महामारी तीव्र गतिमा फैलिरहेकाले ज्वरोका बिरामीहरुले पीसीआर परीक्षण गराउन उपयुक्त हुने डा. जोशीको सुझाव छ । उनले भने ‘सबै कोभीडकै बिरामी हुन्छन् भन्न सकिदैन तर ज्वरोका बिरामीहरुले पीसीआर परीक्षण गरे राम्रो हुन्छ ।’

जिल्लामा धेरै जसो भारतबाट फर्केका नागरिकहरु सिधै घर गएका र यसले कोरोनाको संक्रमण फैलिएको हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् । जिल्ला अस्पतालमा पीसीआर परीक्षण निशुल्क हुने भएकाले पहुँच भएकाहरुलाई परीक्षण गर्न आग्रह गरिएको छ । 

जिल्लामा पछिल्लो समयमा कडा खालको कोरोनाका लक्षण भएका बिरामीहरु आईरहेकाले समयमै चेकजाँच गर्न डा. जोशीले आग्रह गरे । उनले भने ‘अहिले पनि कोरोनाका संक्रमित मध्ये धेरैलाई अक्सिजनको आवश्यकता परीरहेको छ । त्यसैले समयमै सचेत नबनेमा स्थिती भयावह हुन सक्छ ।’

मौसम परिवर्तनको समय भएकाले भाईरल ज्वरोको समय पनि भएकाले कतिपयलाई भाईरल ज्वरो पनि हुन सक्ने डा. जोशीले बताए । तर अहिले कोरोनाको महामारी भएकाले पीसीआर परीक्षणमै उनले जोड दिए । 

कोरोनाबाट बच्नका लागि भौतिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, समयसमयमा साबुनपानीले हात धुने अथवा सेनेटाइजरको प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । यो समयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आवश्यक भएको डा. जोशीले बताए । 

(सहकर्मी सुरेश महराको सहयोगमा यो स्टोरी लेखिएको हो ।)

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update