Sagun Khabar
बेमौसमी बर्षाको प्रभावले तिहार खल्लो 
फोटो : बैतडीको शिवनाथ गाउँपालिको केन्द्र सुल्लेखान नजिकै खसेको पहिरो

बैतडी –बैतडीको सिगास गाउँपालिका वडा नं ५,६ र ७ का स्थानीय बासिन्दाहरुले यो बर्षको तिहार खल्लो भएको बताएका छन् । तिहारका लागि आवश्यक सामग्री किन्न समेत नपाउँदा तिहार खल्लो भएको स्थानीय शिक्षक पदम साउँदले बताए । उनले भने ‘सेती नदीले बजार जाने बाटो बगाएपछि सबैको घरमा दैनिक उपभोग्य सामग्रीको अभाव छ । यो बर्षको तिहार निकै खल्लो भएको छ ।’

तिहार उत्साह र उमंगको पर्व भएपनि बाढी र पहिरोले ठाउँठाउँमा क्षति पुर्याएपछि अहिले त्यहाँका स्थानीयहरुलाई निकै समस्या छ । ‘तिहारको मुखमा हामीले निकै महंगोमा दैनिक नुन,तेल, साबुन किन्नुपरीरहेको छ । त्यो पनि सहजै पाउने स्थिती छैन् ।’स्थानीय नरेन्द्र रोकायाले भने, ‘डडेल्धुराबाट खच्चरमा बोकाएर ल्याएको सामग्री निकै महंगोमा पुगेको छ । एकातिर बाढीले क्षति पुर्याएको छ । अर्कोतिर हामी महंगीको मारमा छौं ।’

स्वास्थ्य सन्देश
Atrya hospital

सिगास गाउँपालिकाका मुख्य बाटाहरु बाढी र पहिरोले भत्काएपछि भाईटीकाका लागि माइत जाने दीदीबहिनीहरुलाई समेत समस्या भएको छ । एक गाउँबाट अर्को गाउँ जाने बाटोहरु समेत भत्किँदा समस्या भएको स्थानीय ईश्वर साउँदले बताए । 

कार्तिक पहिलो साता परेको अविरल बर्षाले घर नै बगाएपछि शिवनाथ गाउँपालिका ६ का हरिसिंह धनाडीको तिहार पनि खल्लो भएको छ । ‘चाडपर्व आएर के गर्नु ? अर्काको घरमा बसोबास छ । भएको घर पहिरोले लगेको छ ।’उनले भने ‘निकै मेहनत गरेर बनाएको घर पहिरोले लगेपछि निकै समस्या भएको छ ।’

शिवनाथ गाउँपालिका ६ बसेडीमा पहिरोले एकैघरका तीनजनाको मृत्यु भएपछि अहिले गाउँमै चाडपर्व खल्लो भएका छन् । पहिरोले परिवार नै उजाड बनाएको अवस्थामा चाडपर्वको केही महत्व नहुने स्थानीय जयमल पार्कीले बताए । उनले भने ‘मेरो त घरपरिवार नै उजाड बनायो । चाडपर्वहरु नआइदिएको भए हुन्थ्यो जस्तो लाग्छ ।’

जिल्लाको विभिन्न स्थानमा बाढी पहिरोले क्षति पुर्याएपछि स्थानीयहरु समस्यामा परेका छन् । कतिपय ठाउँका स्थानीयहरुका घरखेत बगाएपछि उनीहरु समस्यामा परेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update