Sagun Khabar
धनगढीमा हुने महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा, सुदूरपश्चिमको टोली घोषणा

कैलाली –पुस ३ गतेदेखि धनगढीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह–आयोजनामा धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिता तयारी पूरा भएको हो । 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीका अनुसार मूल आयोजक समितिसंगै विभिन्न समिति गठन गरेर प्रतियोगिताको तयारी गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

प्रतियोगितमा सुदूरपश्चिमसहित ८ टिमको सहभागिता रहने छ । सुदूरपश्चिमसहित नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश र प्रदेश न. २ एउटा समूहमा रहेका छन् ।  समूह ‘ए’ मा प्रदेश १, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश रहेका छन् ।  

उद्धघाटन खेल प्रदेश नम्बर १ र कर्णाली प्रदेशबीच हुने छ । प्रतियोगिताको विजेता टिमले ५ लाख र उप–विजेताले ३ लाख पुरस्कार पाउने छन् । 

यसैबीच सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीका अन्य सदस्यहरूमा विन्दु रावल, डली भट्ट, कविता जोशी, दीपा जोरा, विमला भट्ट, कविता कुँवर, रुवी पोदार, लक्ष्मी साउद, ईश्वरी विष्ट, शोभा रोकाया, दिव्या कार्की, संगीता मौनी र सम्झना खड्का रहेका छन् । 

यस्तै रेवती धामी, मनीषा चौधरी, भावना जोशी र सपना तामाङ वैकल्पिक खेलाडीका रूपमा छनौट भएका छन् । हालै सम्पन्न प्रादेशिक छनौट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टिममा समावेश गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update