Sagun Khabar
बैतडीमा बजार अनुगमन : ९ हजार बराबरको अखाद्य सामग्री नष्ट 

बैतडी –बैतडीमा चाडपर्वलक्षित बजार अनुगमनलाई निरन्तरता दिइएको छ । जिल्ला प्रशासन कार्यालयमा केही दिन पहिला बसेको सर्वपक्षीय सरोकारवालाहरुको बैठकले बजार अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको थियो । 

सोही निर्णय अनुसार बैतडी सदरमुकाम गोठलापानीमा बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा नियन्त्रण कार्यालय बैतडीका प्रमुख विक्रम श्रेष्ठले जानकारी दिए । 

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा ३३ वटा खाद्य स्टोर, किराना तथा तरकारी पसल, होटल–खाजा घर, बेकरी, डेरी तथा मिठाई पसल र ग्यास डिलरको निरीक्षण गरिएको हो ।

अनुगमनका क्रममा म्याद नाघेका तथा कैफियत देखिएका करीब ९ हजार २०५ रुपैयाँ बराबरका खाद्य सामग्री नष्ट गरिएको श्रेष्ठले जानकारी दिए । अनुगमनका क्रममा एक पसललाई ५ हजार रुपैयाँ जरिवाना पनि गरिएको उनले बताए । 

अनुगमनमा जिल्ला प्रशासन, प्रहरी, घरेलु तथा साना उद्योग र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता थियो ।
 

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  ०८:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update