Sagun Khabar
पीएम कप राष्ट्रिय क्रिकेट : बैतडीका २८ खेलाडी बन्द प्रशिक्षणमा 

बैतडी –प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीका २८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नका लागि अन्तिम १४ को टोली घोषणा गर्न २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । उनीहरुको बन्द प्रशिक्षण आजदेखि मेलौली खेल मैदानमा हुने बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।

बिहीबार देहिमाडौँमा सम्पन्न जिल्लास्तरीय छनोट प्रतियोगितामा राम्रो प्रर्दशन गरेको आधारमा उनीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको छनोट समितिका सदस्य तथा दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्र बोहराले जानकारी दिए ।

छनोट हुने खेलाडीमा दीपक बोहरा, डम्बर बुडाल, वीरेन्द्र नाथ, प्रदीप चन्द, सुनिल चन्द, लोकेन्द्र चन्द, राजु भाट, जगदीश चन्द, गोपी नाथ, नरेन भट्ट, जयराम भट्ट, भुपेन्द्र चन्द, प्रशान्त कार्की र दीपेन्द्र जोशी रहेका छन्। वसन्त भट्ट, राम चन्द, महेश जोशी, धिरु मल्ल, श्याम साउद, मदन चन्द, ऋषिकेश बोहरा, आकाश चन्द, गजेन्द्र बोहरा, प्रेम बुडाल, खडक बोहरा, सुरेन्द्र चन्द, हिक्मत महरा र लक्ष्मण महरा पनि बन्द प्रशिक्षणका लागि छनोट भएका छन् ।

खेलाडी छनोट समितिमा सुदूरपश्चिम प्रदेश प्रमुख प्रशिक्षक दीपेन्द्रबहादुर चन्द, बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव शेरसिंह खत्री, दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्र बोहरा र बैतडी जिल्ला क्रिकेट सङ्घका सदस्य वीरसिंह बोहरा रहेका थिए । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट सङ्घको आयोजनामा यही पुस २५ गतेदेखि काठमाडौँमा हुँदैछ । 

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update