Sagun Khabar
सतबाँझमा फेरी फल्न थाल्यो स्याउ 
फोटो : सुख्खा फलफूल विकास केन्द्र सतबाँझमा फलेको स्याउ  

बैतडी – कुनै बेला स्याउ उत्पादनका हिसाबले परिचित बैतडीको सतबाँझमा पछिल्लो १५ बर्ष यता स्याउ फलेको थिएन्  । तर यो बर्षदेखि फेरी स्याउ फल्न थालेको छ । करीब १५ बर्षपछि सुख्खा फलफूल केन्द्रको नर्सरीमा स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख डम्मरसिंह भाटले बताए । उनले भने ‘अहिले हाम्रो फार्ममा स्याउ फलेको छ । पहिला गोल्डेन जातको स्याउ थियो । सो स्याउ नफलेपछि हामीले होचो जातको स्याउ रोपेको हो ।’ 

गोल्डेन जातको स्याउ फल्न छोडेपछि अहिले होचो जातका स्याउ बिरुवाहरु नर्सरीमा लगाएको प्रमुख भाटले बताए । होचो जातका स्याउले फल दिन थालेको उनको भनाई छ । ‘करीब ८० बोट स्याउको फलेको छ । अब सुख्खा फलफूल विकास केन्द्रमा स्याउ खेतीलाई पनि विस्तार गर्ने योजना रहेको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

सुख्खा फलफूल विकास केन्द्रमा पहिला स्याउ फल्ने गरेको भएपनि जलवायु परिवर्तनका कारण गएको १५ बर्ष यता स्याउ फल्न छोडेको थियो । गोल्डेन जातको स्याउ फल्न छोडेपछि अहिले होचो जातका ६ प्रकारका स्याउका बिरुवाहरु रोपेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिए । 

फलेको स्याउको दाना जोगाउन हिलनेटको प्रयोग गरिएको उनले बताए । असिनाले स्याउको दानामा क्षति नपुर्याओस भनेर हिल नेटको प्रयोग गरिएको उनको भनाई छ । उनले भने ‘पहिलाको जस्तो हिउँ पर्न छोडेपछि गोल्डेन जातको स्याउ फल्न छोड्यो । अहिले हामीले होचो जातको स्याउ रोपेपछि फल दिन शुरु भएको छ । फललाई असिनाबाट जोगाउन जालीको प्रयोग गरेका छौं ।’

सुख्खा फलफूल विकास केन्द्रमा स्याउको बारी विस्तारका लागि यो बर्ष १५० बोट होचो जातको स्याउ रोपिएको छ । यस्तै स्याउको माउ बोट उत्पादनको तयारी समेत भएको प्रमुख भाटले बताए । अहिले फलेको स्याउ भदौमा टिप्न लायक हुने उनले बताए । 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update