बैतडी –निर्वाचन आयोगको निर्देशन अनुसार बैतडीका १० ओटै मतगणनास्थलमा सीसीटीभी क्यामेरा जडान भएको छ । मतगणना कार्यलाई व्यवस्थित र निष्पक्ष बनाउन जिल्लाका सबै ठाउँमा सीसटीभी क्यामेरा जडान गरिएको जिल्ला निर्वाचन अधिकारी माधव फुयालले बताए ।
मतगणनास्थलमा भईरहेका गतिविधिहरुको अनलाइन माध्यमबाट अनुगमन गर्नका लागि निर्वाचन आयोगले सीसीटीभी क्यामेरा जडानका लागि निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार १० ओटै पालिकाका मतगणनास्थलमा सीसीटीभी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए ।
मतगणनास्थलमा कुनै विवाद भएमा विद्युतीय अभिलेखीकरणका लागि सहज होस भनेर सीसीटीभी क्यामेरा जडान गरिएको सुर्नया गाउँपालिकाका निर्वाचन अधिकृत सिद्धराज जोशीले बताए ।
मतगणना कार्यलाई व्यवस्थित बनाउन सीसीटीभी क्यामेराले सहज हुने उनले बताए ।






