
बैतडी –आज भईरहेको पालिका चुनावको लागि आज बिहान ६ बजेदेखि देशभर जस्तै बैतडीमा पनि गाडी चलाउन रोक लगाइएको छ ।
चुनावको बेला आचारसंहिता उल्लङ्घन र अरु अप्रिय घटनाहरु नहुन् भनेर आज बिहान ६ बजेदेखि बेलुका मतदानको समय नसकिउञ्जेल दुई पाङ्ग्रे लगायत सबै गाडीहरु चलाउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
एक ठाउँमा मत हालेको व्यक्ति अर्को ठाउँमा गएर भिड जम्मा नगर्न तथा अनावश्यक प्रभाव पार्ने काम रोक्न गाडी चलाउन बन्द गर्नुपरेको बताइएको छ । यो अवधिमा अत्यावश्यक गाडी भने सञ्चालन हुने बताइएको छ ।
एम्बुलेन्स, शव वाहन, दूध तथा तरकारी बोकेका गाडी लगायत अत्यावश्यकीय सेवाका गाडीलाई पास चाहिँदैन । अरु आवश्यक सेवाका लागि जिल्ला प्रशासन कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट पासको व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ ।