Sagun Khabar
मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसका बिष्ट विजयी 

बैतडी –बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भुकम्प) विजयी भएका छन् । गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको नगरपालिकामा माओवादीका चन्दको इन्ट्री भएको हो । 

निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जगदीशसिंह नायकलाई पछि पार्दै चन्द मेयरमा विजयी भएका हुन् । गएको स्थानीय तहको निर्वाचनमा काँग्रेसका कृष्णसिंह नायकसंग झिनो मतले पराजित भएका थिए । 

मेयरमा विजयी भएका चन्दले ३ हजार ९६ मत प्राप्त गरे भने उनका निकटम् प्रतिस्पर्धी नेकपा एमालेका जगदीशसिंह नायकले २ हजार ३७६ मत प्राप्त गरे । 

यो नगरपालिकामा कांग्रेसका मेयर पदका उम्मेदवार प्रेमबहादुर चन्दले तेश्रो मत प्राप्त गरेका छन् । गएको स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर दुवै पद जितेको कांग्रेसले यो पाली भने मेयर पद गुमाएको छ । उपमेयरमा भने नेपाली कांग्रेसकी पार्वती बोहरा बिष्ट विजयी भएकी छिन् । उनले एमालेकी हेमन्ती नायकलाई पछि पार्दै उपमेयरमा जित निकालेकी हुन् । 

उपमेयरमा विजयी कांग्रेसकी बिष्टले २ हजार ९२७ मत ल्याउँदा एमालेकी नायकले २ हजार ४०८ मत ल्याइन् । मेलौली नगरपालिकाका ९ वडा मध्ये ४ मा नेपाली कांग्रेस, तीनमा माओवादी केन्द्र र दुईमा एमालेले जित निकालेको छ । 

वडा नं १ मा एमालेका शरदसिंह नेगी, वडा नं २ मा काँंग्रेसका कृष्णदत्त भट्ट, वडा नं ३ मा कांग्रेसका गगन भाट, वडा नं ४ मा माओवादीका हर्कबहादुर चन्द,वडा नं ५ मा कांग्रेसका भरतसिंह पुजारा, वडा नं ६ मा माओवादीका तारादत्त भट्ट, वडा नं ७ मा माओवादीका रामचन्द्र भट्ट, वडा नं ८ मा एमालेका तपेन्द्र बिष्ट र वडा नं ९ मा कांग्रेसका लोकराज भट्ट विजयी भएका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update