
बैतडी –वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत बैतडीमा चार जना गाउँपालिका अध्यक्ष र दुई जना पालिका उपाध्यक्षमा दोहोरिएका छन् । जिल्लामा पालिका अध्यक्ष र उपाध्यक्ष पदको लागि टिकट पाएका ६ जना पुराना जनप्रतिनिधि फेरी दोहोरिएका हुन् ।
जिल्लाको पञ्चेश्वर गाउँपालिकामा गोरखबहादुर चन्द, शिवनाथ गाउँपालिकामा कर्णसिंह साउँद,सिगास गाउँपालिकामा हरिसिंह धामी र दोगडाकेदार गाउँपालिकामा चक्रबहादुर कार्की अध्यक्ष पदमा फेरी दोहोरिएका हुन् ।
यस्तै उपाध्यक्ष पदमा पञ्चेश्वर गाउँपालिकामा बीना भट्ट र दोगडाकेदार गाउँपालिकामा पार्वती ऐरी कार्की दोहोरिएका हुन् ।
पञ्चेश्वर गाउँपालिकामा गोरखबहादुर चन्द नेपाली कांग्रेसका रमेशसिंह भण्डारीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने शिवनाथमा कर्णसिंह साउँद एमालेका हजारी साउँदलाई पछि पार्दै निर्वाचित भएका हुन् ।
यस्तै सिगास गाउँपालिकामा हरिसिंह धामी एमालेका जस्बीर बोहरालाई पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने दोगडाकेदार गाउँपालिकामा चक्रबहादुर कार्की नेपाली कांग्रेसका देवराज जोशीलाई पछि पार्दै निर्वाचित भएका हुन् ।
यस्तै पञ्चेश्वर गाउँपालिकामा बीना भट्ट एकीकृत समाजवादीका राजेन्द्र चन्दलाई पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् भने दोगडाकेदार गाउँपालिकामा पार्वती ऐरी कार्की माओवादी केन्द्रका नवराज भट्ट (कुसुम)लाई पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।
बैतडीमा अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवार बनेका पुराना अनुुहार सबै दोहोरिएका छन् । आफूहरुले पहिलो कार्यकालमा केही योजना बनाएका र ती योजनाहरुलाई पूरा गर्न लागिपर्ने निर्वाचित जनप्रतिनिधिहरुले बताएका छन् ।