
बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा पराजित भएका नेपाली कांग्रेसका नेता गजेन्द्रसिंह रावलले घरदैलो अभियान थालेका छन् । मतदाताहरुलाई धन्यवाद दिनका लागि घरदैलो अभियान थालेको रावलले बताए । चुनावमा हारजित स्वाभाविक प्रक्रिया भएकाले आफूले प्रत्येक वडामा पुगेर धन्यवाद दिन थालेको उनले बताए । उनले भने ‘म केही मतान्तरले पराजय भएको छु । मतदाताहरुलाई धन्यवाद दिन गाउँगाउँमा जान थालेको छु ।’
वैशाख ३० गते सम्पन्न भएको पालिका चुनावमा रावल एमालेका पुस्करराज जोशी (लख्खाभाइ) संग मेयर पदमा पराजित भएका थिए । जोशीले ६ हजार ५८५ मत पाए भने रावलले ५ हजार ४२७ मत पाए ।
चुनावको समयमा मतदाताहरुसंग आफूले निर्वाचनपछि पनि भेट गर्ने बाचा गरेकाले घरदैलो अभियान गरिरहेको रावलले बताए । कांग्रेसका नेता कार्यकर्ताहरुसंगै आफू घरदैलो अभियानमा लागेको उनले बताए ।
यस्तै नेपाली कांग्रेसबाट उपमेयरमा पदमा विजयी कौशिला चन्दले पनि घरदैलो अभियान थालेकी छिन् । मतदाताहरुलाई धन्यवाद दिनका लागि आफूले घरदैलो अभियान थालेको उनले बताइन् । उनले भनिन् ‘मतदाताहरुको मतले उपमेयरमा विजयी भएको छु । उनीहरुलाई धन्यवाद दिनका लागि घरदैलो अभियान शुरु गरेकी छु ।’
स्थानीयहरुका समस्या बुझेर भोलिका दिनमा योजना र कार्यक्रम बनाउन सहज हुने भएकाले आफूले घरदैलो अभियान शुरु गरेको चन्दले बताइन् ।