
बैतडी –बैतडीका नवनिर्वाचित पालिका प्रमुखहरुले पद तथा गोपनियताका शपथ ग्रहण गरेका छन् । दशरथचन्द नगरपालिकामा आयोजना गरिएको शपथ ग्रहण समारोहमा दशै पालिकाका प्रमुखहरुले शपथ ग्रहण गरेका छन् ।
जिल्ला न्यायधिश तिलकबहादुर कार्कीले दशओटै पालिकाका प्रमुखहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । पालिकाका प्रमुखहरुले निर्वाचित भएको सात दिनभित्र जिल्ला न्यायधिशबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
पालिकाका उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरुले सम्बन्धित पालिका प्रमुखबाट शपथ लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । पालिका प्रमुखहरुले शपथ लिएकाले अब अन्य जनप्रतिनिधिहरुले पालिका प्रमुखबाट शपथ लिनेछन् ।
वैशाख ३० गते सम्पन्न पालिका चुनावबाट जिल्लाका १० ओटै स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरु चयन भएका छन् । शपथ लिएसंगै अब पालिका प्रमुखहरुले पद्भार ग्रहण गर्ने बाटो समेत खुलेको छ ।
जिल्लाको दशरथचन्द नगरपालिकाको मेयरमा एमाले पुस्करराज जोशी (लख्खाभाइ), पाटनको मेयरमा नेपाली कांग्रेसका गौरीसिंह रावल, मेलौली मेयरमा माओवाली केन्द्रका भीमबहादुर चन्द (भुकम्प) र पुर्चौंडीको मेयरमा नेपाली कांग्रेसका दीपकबहादुर बम निर्वाचित भएका छन् ।
यस्तै सुर्नया गाउँपालिकाको अध्यक्षमा एमाले अम्मरबहादुर कुँवर, दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा एमालेका चक्रबहादुर कार्की, डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रका सन्तोषप्रकाश जोशी, सिगास गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिसिंह धामी, शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णसिंह साउँद र पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्द निर्वाचित भएका छन् ।