Sagun Khabar
बैतडीको दशरथचन्दमा जनताका गुनासा सुन्न ‘हेलो मेयर’ कार्यक्रम 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले शुक्रबार पद्भार ग्रहण गरेका छन् । पद्भार ग्रहण गर्दै उनले नागरिकका गुनासा सुन्न हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । सुशासनमा जोड दिँदै आएका नगरप्रमुख जोशीले नागरिकले हरेक शुक्रबार दिउँसो ३ बजेदेखि आफूलाई फोन गर्न सक्ने बताए । 

यस्तै दशरथचन्द नगरपालिकामा उपभोक्ता समिति मार्फत हुने कामलाई निरुत्साहित गर्दै १० लाख भन्दा माथिका योजना ठेक्का प्रणाली मार्फत सञ्चालन गर्ने नगरप्रमुख जोशीले बताए । उनले भने ‘हामीले विकास निर्माणका योजनाहरुलाई प्रभावकारी बनाउनका लागि १० लाख भन्दा माथिका योजनाहरु इ बिडिङ मार्फत सञ्चालन गर्नेछौं ।’

यस्तै प्रत्येक तीन महिनामा वडाहरुमा स्वास्थ्य शिविर पनि सञ्चालन गर्ने नगरप्रमुख जोशीले घोषणा गरे । नगरबासीहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि शिविरको आयोजना गरिने उनले बताए । 

Atrya hospital

पद्भार ग्रहण गरे लगत्तै मेयर जोशीले नगरपालिकामा कार्यरत जनशक्ति तथा करारमा कार्यरत कर्मचारीहरुको विवरण माग गरेका छन् । यस्तै चालु आर्थिक बर्षमा सम्पन्न भएका योजना र बाँकी रहेका योजनाहरुको विवरण तयार गर्न समेत उनले कर्मचारीहरुलाई निर्देशन दिएका छन् । 

यस्तै उपप्रमुख कौशिला चन्दले पद्भार ग्रहण गर्दै न्यायिक समितिलाई गति दिने बताइन् । न्यायिक परमार्शदाता राखेर न्यायिक समितिका कामलाई प्रभावकारी बनाउने उनले बताइन् । यस्तै नगरपालिकाभित्र सञ्चालन हुने योजनाहरुको अनुगमन कार्यलाई प्रभावकारी बनाएर सुशासनमा जोड दिने उनले बताइन् ।  
 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update