
बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं १० मा स्वास्थ्यसंस्थामा पहिलो छोरी जन्माउने आमालाई थप प्रोत्साहन भत्ता उपलब्ध गराइने भएको छ । नवनिर्वाचित वडा अध्यक्ष धनबहादुर कुँवरले पदभार ग्रहण गर्दै पहिलो छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिने निर्णय भएको बताए ।
वडाभित्रका स्वास्थ्यचौकीमा पहिलो छोरी जन्माउने आमालाई नेपाल सरकारले दिने भत्तामा थप एक हजार भत्ता दिने निर्णय भएको वडा अध्यक्ष कुँवरले बताए । छोरा र छोरीबीच हुने विभेदलाई कम गर्नका लागि यो निर्णय गरिएको उनले बताए । उनले भने ‘छोरी जन्माउने आमालाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन होस भनेर हामीले यो निर्णय गरेका हौं ।यसले छोरा र छोरीबीचको विभेद कम हुने आसा गरेका छौं ।’
पदभार ग्रहण गर्दै वडा अध्यक्ष कुँवरले सबै वडाबासीलाई समान किसिमले वडाबाट सेवा प्रदान गरिने बताए । वडाको समग्र विकासका लागि आफूले पहल गर्ने र यसमा सबै वडाबासीको सहयोग हुनुपर्नेमा उनले जोड दिए । उनले भने ‘वडाबासीहरुले दिएको जनमतको अपमान नहुने गरेर काम गर्छु । यसमा सबैले सहयोग गर्नुहुन्छ भन्ने आसा लिएको छु ।’