
बैतडी –गएको स्थानीय तहको चुनावको भन्दा बैतडीमा यो पटक फरक परिणाम आएको छ । बैतडीका ५ ओटा स्थानीय तहका सत्ता गठबन्धन दलहरुले चुनावी तालमेल गरेका थिए भने सुर्नयामा राप्रपा र एमालेको तालमेल थियो । यस्तै दशरथचन्द नगरपालिका र सुर्नयामा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ६ ओटा पालिकाको प्रमुखमा जित हात पारेको थियो । तर यस पटक भने कांग्रेसले ४ ओटा तहमा मात्रै प्रमुख जित हात पारेको छ । पालिकाका उपप्रमुख तथा उपाध्यक्षमा भने ५ पालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । गएको स्थानीय तहको निर्वाचनमा ६ पालिका प्रमुख र ४ पालिका उपप्रमुखमा जित हात पारेको थियो ।
एमालेले भने गएको स्थानीय तहको निर्वाचन भन्दा यस पटकको निर्वाचनमा आफ्नो स्थितीमा सुधार ल्याएको छ । गएको स्थानीय तहको निर्वाचनमा एमाले तीनओटा पालिकाको प्रमुख जितेको थियो भने यस पटक ४ स्थानीय तहको प्रमुख पदमा जित हात पारेको छ । यस्तै उपप्रमुख पदमा भने २०७४ को तुलनामा एक तह कम जितेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले गएको निर्वाचनमा एक तहमा जित हासिल गरेको थियो भने यस पटक पनि माओवादी एक तहमै सीमित रहेको छ । जिल्लाको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा भने स्वतन्त्रका उम्मेदवारले जित हात पारेको छ ।