Sagun Khabar
पाटनका मेयर रावल, पहिला वडा अध्यक्षमा हारे अहिले नगर प्रमुख बने 

बैतडी –बैतडीको पाटन नगरपालिका नवनिर्वाचित नगर प्रमुख गौरीसिंह रावलले नगरबासीको चाहना अनुसार काम गर्ने बताएका छन् । मेयरमा निर्वाचित भएपछि उनले सगुनखबरसंग कुराकानी गर्दै सबैको सहयोगमा समृद्ध पाटन बनाउने आफ्नो योजना रहेको बताए । 

नागरिकले अभिमत प्रकट गरेर निर्वाचित गरेकाले नगरबासीकै चाहना अनुसार नगरपालिका अघि बढ्ने बताए । २०७४ सालको निर्वाचनमा पाटन नगरपालिका वडा नं १ को वडा अध्यक्षमा पराजित भएका रावल अहिले मेयरमा निर्वाचित भएपछि निकै खुसी भएका छन् । जनताको जनमतले नै सबै कुरा निर्धारण गर्ने उनले बताए । गएको निर्वाचनमा माओवादीका गणेशदत्त भट्टराईसंग वडामा पराजित भएका रावल यस पटक भने मेयरमा निर्वाचित भएका हुन् । 

एमालेका नारायणसिंह भण्डारीलाई पराजित गर्दै कांग्रेसबाट रावल मेयरमा विजयी भएका हुन् । आफूले नगरबासीका समस्याका बारेमा बुझेको र त्यही अनुसार काम अघि बढाउने उनले बताए । उनले भने ‘हामीले भर्खर पदभार ग्रहण गरेका छौं । कार्यपालिकाले पूर्णता पाएपछि बैठक बसेर कामलाई तिव्रता दिन्छौं ।’
 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update