
बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ९ का नवनिर्वाचित वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो पारिश्रमिकबाट वडाबासीको विद्युत महसुल तिर्ने घोषणा गरेका छन् । वडा अध्यक्षमा निर्वाचित भएपछि सिद्धेश्वर मावि हुक्केडाँडामा आयोजना गरिएको सहभोज कार्यक्रममा बोल्दै वडा अध्यक्ष भाटले सो घोषणा गरेका हुन् ।
चुनावी प्रचारप्रसारको समयमा समेत आफूले जितेमा वडाबासीको विद्युत महसुल तिर्ने बताएका अध्यक्ष भाटले निर्वाचनमा विजय भएपछि सो घोषणा गरेका हुन् ।
वडा अध्यक्षको पारिश्रमिकबाट विद्युत महसुल तिर्ने निर्णय भईसकेको पाटन नगरपालिका वडा नं ९ का सदस्य प्रेमसिंह भाटले बताए । वडामा ४ सय ५० घरधुरी रहेको र उनीहरुको विद्युत महसुल वडा अध्यक्षको पारिश्रमिकबाट तिर्ने निर्णय भएको उनले बताए ।
वडा अध्यक्षले विद्युत महसुल तिर्ने भएपछि स्थानीयबासीहरु पनि खुसी भएका छन् । महसुल बुझाउन प्रत्येक महिना पाटन जानुपर्ने झण्झट पनि हटेको स्थानीय रामसिंह भाटले बताए ।