डडेल्धुरा –नेकपा (माओवादी केन्द्र) आलिताल गाउँ कमिटीका सचिव गणेश कामीले राजीनामा दिएका छन् । सोमबार कामीले वडाध्यक्षमा पराजित भएपछि नैतिकताका आधारमा सचिव पद छाडेको जनाएका हुन् ।
पार्टीले वडा–८ को अध्यक्षको उम्मेदवार बनाएर चुनाव लडेको र पछि पार्टीका जिम्मेवार व्यक्तिहरूले नकारात्मक भूमिका खेलेकाले वडामा सबै उम्मेदवारहरूको हार भएको कामीले दाबी गरेका छन् ।
पार्टीले हार व्यहोरेकाले नैतिकता आधारमा आफूले राजीनामा गरेको उनले बताएका छन् । गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा आलिताल–८ को अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर देउवा निर्वाचित भएका थिए । एमालेका रामचन्द्र पुनलाई हराउँदै देउवा प्यानल सहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा यो वडा माओवादीले जितेको थियो ।





