
बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ५ वसन्तपुरमा घरपालुवा पशुहरुमा खोरेत रोग देखिएपछि किसानहरु चिन्तित बनेका छन् । किसानहरुले पालेका गाई, गोरु,भैंसी, बाख्रा लगायतका पशुहरुमा खोरेत रोगको प्रकोप देखिएको हो ।
रोपाँइ गर्ने तथा मकै लगाउने समयमा गोरुहरुमा खोरेत देखिएपछि खेत जोत्न मुस्किल भएको स्थानीय किसानहरुले बताएका छन् । गाउँमा करीब १५० बढी पशु खोरेत रोगबाट प्रभावित भएका बताइएको छ ।
पशुहरुमा खोरेत रोगको प्रकोप फैलिएको थाहा पाउने बित्तिकै गाउँमा प्राविधिकहरुको टोली खटाएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । आफूले हिजो मात्रै खोरेत रोगको प्रकोपका बिषयमा थाहा पाएको र आज औषधि सहित प्राविधिकहरुको टोली खटिसकिएको उनले बताए । ३ सय भ्याक्सिन सहित तीन जना पशु सेवा प्राविधिकहरुलाई गाउँमा खटाएको उपप्रमुख बोहराले बताए ।
पशुहरुमा खोरेत रोग देखिएमा मुखमा घाउ हुने, खुट्टाको काप र खुरमा घाउ हुने लगायतका लक्षण देखा पर्दछन् । यो रोग भाइरसबाट हुने पशु प्राविधिकहरुले बताएका छन् ।