Sagun Khabar
सुदूरपश्चिमका ८७ पालिकाको मत परिणाम सार्वजनिक, कांग्रेस बन्यो सबैभन्दा ठूलो दल 

बैतडी –सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका बाहेक प्रदेशका सबै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

प्रदेशमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै पालिका जित्दै ठूलो पार्टी बनेको छ । काँग्रेसले ४० प्रमुख र अध्यक्ष जितेको छ भने ४७ पालिकामा उपप्रमुख र उपाध्यक्ष जितेर पहिलो पार्टी बनेको हो । ०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले ३८ स्थानीय तहमा प्रमुख र अध्यक्ष जितेको थियो । 

यस्तै २५ वटा स्थानीय तहमा प्रमुख र अध्यक्ष तथा २४ स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षमा जित निकाल्दै नेकपा एमाले दोस्रो दल बनेको छ । ०७४ सालमा भने एमाले प्रदेशमा ३९ स्थानमा जित निकाल्दै पहिलो पार्टी बनेको थियो । 

०७४ सालमा १० स्थानीय तह जितेको नेकपा माओवादी केन्द्रले यसपटक १४ स्थानीय तहमा प्रमुख र अध्यक्ष तथा ११ पालिकामा उपप्रमुख र उपाध्यक्षमा जित हासिल गर्दै तेस्रो पार्टी बनेको छ ।

चार महिनाअघि मात्रै गठन भएको नागरिक उन्मुक्ति पार्टी भने चौथो शक्ति बनेको छ । उसले कैलाली जिल्लामा मात्रै ४ वटा स्थानीय तहमा प्रमुख र अध्यक्षमा जित हासिल गरेको छ भने तीन वटामा उपप्रमुख र उपाध्यक्ष जितेको छ । 

नेकपा एकीकृत समाजवादीले दुई पालिकामा प्रमुख र अध्यक्ष जितेको छ भने उपप्रमुख र उपाध्यक्ष पनि ३ स्थानमा जितेको छ । प्रदेशका दुई स्थानीय तहमा स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् । 

सुदूरपश्चिममा एकीकृत समाजवादी ७ तथा काँग्रेस, एमाले र माओवादी केन्द्र १–१ जिल्लामा निल भएका छन् । काँग्रेसले दार्चुला, माओवादीले बाजुरा र एमालेले डडेल्धुरा जिल्लामा एउटा पालिकामा पनि जित्न निकाल्न नसकेको हो । 

एकीकृत समाजवादीले भने कैलाली र बझाङ बाहेक अन्य कुनै जिल्लामा पनि स्थानीय तहको प्रमुख र अध्यक्ष जित्न सकेको छैन । 

काँग्रेसले डोटीका ७, अछामका ७, बझाङका ६, डडेल्धुराका ५, कञ्चनपुरका ५, बैतडीका ४, बाजुराका तीन र कैलालीका तीन स्थानीय तहमा जित निकालेको छ । यस्तै एमालेले दार्चुलाका ५, बाजुराका ५, बैतडीका ४, बझाङका ३, कञ्चनपुरका ३, कैलाली र अछाम २÷२ तथा डोटीको एक स्थानीय तहमा जितेको छ ।

माओवादी केन्द्रले भने दार्चुलाका चार, बझाङ, डडेल्धुरा र कैलालीका २÷२, बैतडी, डोटी, अछाम र कञ्चनपुरका एक÷एक स्थानीय तहमा जितेको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update