
बैतडी – बैतडीको पुर्चौंडी नगरपालिकाले वडा थप्ने निर्णय गरेको छ । नगरकार्यपालिकाको बैठकले तीनओटा वडा थप्ने निर्णय गरेको नगर प्रमुख दीपकबहादुर बमले बताए । वडा नं १० लाई यसअघिकै नगर सरकार टुक्र्याएर वडा थप्ने निर्णय गरेको थियो नयाँ सरकारले वडा नं ३ र ५ लाई टुक्र्याएर थप्ने निर्णय गरेको नगर प्रमुख बमले बताए ।
जनसंख्या र भुगोलको आधारमा वडाहरु थप गर्ने निर्णय भएको पुर्चौंडी नगरपालिकाले जनाएको छ । नगर कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनका लागि प्रदेश सरकारलाई सिफारिश गरिने बताइएको छ ।
यस्तै नगरकार्यपालिकाले विभिन्न समितिहरुलाई पूर्णता समेत दिएको छ । नगरको आर्थिक विकास समितिको संयोजकमा गणेशबहादुर गडाल, सामाजिक विकास समितिमा नरेन्द्रबहादुर साउँद, पूर्वाधार विकास समितिमा धिरेन्द्रबहादुर बम, वातावरण तथा विपद् व्यवस्थापन समितिमा हिक्मतबहादुर बिष्ट र संस्थागत विकास एवं सुशासन समितिमा चक्रबहादुर बमलाई संयोजकको जिम्मेवारी तोकिएको बताइएको छ ।