Sagun Khabar
बैतडीको दशरथचन्दमा कार्यपालिकाले पूर्णता पायो, एमालेको बहुमत 
फोटो : दशरथचन्द नगरपालिकामा नवनिर्वाचित कार्यपालिका सदस्यहरु

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा नगरकार्यपालिकाले पूर्णता पाएको छ । वैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि निर्वाचित महिला सदस्य मध्येबाट ५ जना र दलित वा अल्पसंख्यकबाट ३ जना सदस्य थप्नुपर्ने प्रावधान अनुसार कार्यपालिकाले पूर्णता पाएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए । 

महिला सदस्य र दलित वा अल्पसंख्य सदस्यका लागि शनिबार निर्वाचन भएको र सबैमा एमालेका उम्मेदवार चयन भएका दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए । 

निर्वाचित महिला सदस्य मध्येबाट कलावती लावड, धानादेवी थलाल, वसन्ती जोशी,भुरीदेवी बिष्ट र माया पहरी कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । यस्तै दलित वा अल्पसंख्यक मध्येबाट दिनेशबहादुर सिनाल, प्रेम दयाल र विनोदराम लुहार निर्वाचित भएका छन् । 

यो संगै २१ सदस्यीय नगरकार्यपालिकामा एमालेको बहुमत भएको छ । नगर प्रमुख सहित कार्यपालिकामा एमालेका १६ जना अटाएका छन् । उपप्रमुख सहित ५ जना नेपाली कांग्रेसका अटाएका छन् । 

गएको स्थानीय तहको निर्वाचनमा यो नगरपालिकामा मेयर, उपमेयर सहित कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत रहेको थियो । अहिलेको चुनावमा भने दशरथचन्द नगरपालिकामा नेपाली कांग्रेस चार वडामा खुम्चिएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update