
बैतडी –भारतीय सरकारी निकाय राष्ट्रिय जलविद्युत निगम (एनएचपिसी) का अध्यक्ष अभयकुमार सिंहसहितको टोली नेपाल पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेतीको स्थलगत भ्रमणका लागि आग्रह गरेका थिए ।
सोही आग्रहबमोजिम एनएचपिसीका अध्यक्ष सिंहसहितको टोली काठमाडौँ आइपुगेको हो । यद्यपि मोदीको लुम्बिनी भ्रमणभन्दा चार दिनअगाडि नै एनएचपिसीले नेपाल सरकारलाई एक पत्र लेखी स्थलगत अवलोकनका लागि अनुमति मागेको थियो ।
एक अर्बभन्दा बढी डलर लागतको पश्चिम सेती परियोजना ७ सय मेगावाटको छ । यसअघि अष्ट्रेलियाको स्नोई माउन्टेनले पश्चिमसेतीको जिम्मा पाएपनि पछि चीनको थ्री गोर्जेजलाई अनुमति प्रक्रिया अगाडि बढाइएको थियो ।
केही साताअघिमात्र भारतीय पक्षले पश्चिम सेती परियोजना अगाडि बढाउने तयारी सुरु गरेको हो ।