
बैतडी –बैतडीको सुर्नया गाउँपालिकाको गाउँकार्यपालिकाले पूर्णता पाएको छ । वैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि शनिबार (आज) कार्यपालिकाको पनि निर्वाचन भएको हो । गाउँपालिकामा निर्वाचित महिला सदस्य मध्येबाट ४ जना र खुला दलित वा अल्पसंख्यकबाट २ जना चयन गर्नुपर्ने प्रावधान अनुसार आज निर्वाचन मार्फत ती सदस्यहरु चयन गरिएका निर्वाचन अधिकृत सिद्धराज जोशीले बताए ।
निर्वाचित महिला सदस्य मध्येबाट कार्यपालिकामा नेपाली कांग्रेसबाट निर्मला अवस्थी र कमला भट्ट चयन भएका छन् । यस्तै माओवादी केन्द्रबाट पावती मडै र राप्रपाबाट कमला चन्द चयन भएका छन् ।
यस्तै गरी दलित वा अल्पसंख्यक सदस्यमा नेपाली कांग्रेसबाट दासी ढोली र एकीकृत समाजवादीबाट प्रेम लुहार चयन भएका सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
यो संगै १६ सदस्यीय कार्यपालिकामा उपाध्यक्ष सहित नेपाली कांग्रेसका ८ जना, राप्रपाका दुई जना, अध्यक्ष सहित एमालेका ३ जना, माओवादी केन्द्रका २ जना र एकीकृत समाजवादीका एक जना अटाएका छन् ।
यसैबीच सुर्नया गाउँपालिकाका निवर्तमान अध्यक्ष बीरबहादुर बिष्ट, निवर्तमान उपाध्यक्ष लिला बिष्ट लगायत पुराना जनप्रतिनिधिहरुको बिदाई समेत गरिएको छ ।