Sagun Khabar
बैतडीमा जेठ २४ गते जिल्ला समन्वय समितिको चुनाव हुने, यस्तो छ कार्यतालिका 
फोटो :जिल्ला समन्वय समितिको कार्यालय, बैतडी

बैतडी –बैतडीमा यही जेठ २४ गते जिल्ला समन्वय समितिको चुनाव हुने भएको छ । कार्यपालिकाको चुनाव सम्पन्न १० दिन भित्र जिल्ला समन्वय समितिको चुनाव गरिसक्ने प्रावधान अनुसार जेठ २४ गतेका लागि चुनाव गर्ने मिति तोकिएको बैतडीका मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए । 

९ सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका समेत प्रकाशन गरिसकेको छ । एक जना प्रमुख, एक जना उपप्रमुख, तीन जना महिला सदस्य, एकजना दलित वा अल्पसंख्यक सदस्य र तीन जना खुला सदस्य गरेर ९ जनाका लागि चुनाव हुने बताइएको छ । 

जिल्ला समन्वय समितिको चुनावका लागि स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुले मात्रै उम्मेदवार हुन पाउने प्रावधान रही आएको छ । यस्तै नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुने प्रावधान रही आएको छ । 

जिल्ला समन्वय समितिको निर्वाचनका लागि जेठ १९ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । निर्वाचनका सबै प्रक्रिया पूरा गरेर जेठ २४ गते चुनाव हुने बताइएको छ । 

बैतडीमा जिल्ला समन्वय समितिका पदाधिकारीहरुको निर्वाचनका लागि कुनै एक दलको बहुमत नभएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको छ । स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस र माओवादीले गठबन्धन गरेकाले समन्वय समितिको चुनावमा पनि दुवै दलले गठबन्धन गर्ने सम्भावना रही आएको छ । दुवै दलले गठबन्धन गरेमा उनीहरुको बहुमत पुग्ने देखिएको छ । 

बैतडीमा नेपाली कांग्रेसले पालिका प्रमुख र उपप्रमुख गरेर ९ सिट जितेको छ भने माओवादी केन्द्रले दुई सिट जितेको छ । यस्तै नेकपा एमाले पालिका प्रमुख र उपप्रमुख गरेर ८ सिट जितेको छ । डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् । 

DCC1653739398.jpg


 

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update