
बैतडी –हरेक बर्ष मे २८ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय महिनावारी सरसफाई दिवस बैतडीमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेर मनाइएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), फाया नेपाल धनगढी कैलाली, भिएसओ, पिसवीन लगायतका संस्थाहरुको आयोजनामा दिवस मनाइएको हो ।
जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका किशोरकिशोरी समूहमा आवद्ध किशोरकिशोरीहरुले दिवसको अवसरमा सचेतनामूलक कार्यक्रमको आयोजना गरेका छन् । महिनावारी भएको बेला गर्नुपर्ने सरसफाई, महिनावारी भएको बेला गरिने विभेद हटाउनका लागि गर्नुपर्ने प्रयास लगायतका बिषयमा समूहमा छलफल गरिएको सहजकर्ता प्रकाश बडुले बताए । किशोरकिशोरी समूहमा महिनावारीसंग जोडिएका विभिन्न बिषयमा छलफल भएको उनले बताए ।
यस्तै मेलौली नगरपालिका वडा नं १ मा दिवसको अवसरमा सचेतनामूलक नाटक प्रदर्शन गरिएको सहजकर्ता सरस्वती पोखरेलले बताइन् ।
यस्तै मेलौली नगरपालिका ६ मा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको सहजकर्ता हरिना भट्टले बताइन् । महिनावारी सरसफाईसंग सम्बन्धित विभिन्न मुक्तक, गजल लगायतका कार्यक्रमहरु समेत समावेश गरिएको उनले बताइन् ।
जिल्लाका विभिन्न स्थानीय तहमा गठन भएका किशोरकिशोरी समूहमा सचेतनामूलक कार्यक्रम सहित अन्तर्राष्ट्रिय महिनावारी सरसफाई दिवस मनाइएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।
यस्तै संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र फाया नेपालको सहयोगमा दिवसको अवसरमा सचेतनामूलक रेडियो कार्यक्रम, रेडियो जिंगल उत्पादन तथा प्रशारण गरिएको छ । सुदूरपश्चिम प्रदेशका बैतडी, बाजुरा, अछाम र बझाङ जिल्लामा रहेका रेडियोहरुबाट सचेतनामूलक कार्यक्रम उत्पादन र प्रशारण गरिएको फाया नेपालका कार्यक्रम संयोजक लालबहादुर महराले बताए ।