Sagun Khabar
बैतडीको पाटन नगरकार्यपालिकामा गठबन्धनको बहुमत, कुन दलका कति सदस्य ? 

बैतडी –बैतडीको पाटन नगरकार्यपालिकामा कांग्रेस –माओवादी गठबन्धनको बहुमत भएको छ । वैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि कार्यपालिका सदस्यहरुका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो । कार्यतालिका अनुसार गठबन्धनका उम्मेदवारहरुको मात्रै उम्मेदवारी परेकाले कार्यपालिका सदस्यमा उनीहरु निर्विरोध निर्वाचित भएका छन् । 

निर्वाचित महिला वडा सदस्य मध्येबाट पाँच जना कार्यपालिकामा ल्याउनुपर्ने प्रावधान अनुसार तीन जना नेपाली कांग्रेस र दुई जना माओवादी केन्द्रबाट निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट पार्वती चन्द, दीपिका पन्त र कलावती ऐर कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् भने माओवादी केन्द्रबाट बिमला दमाई र जयन्ती भाट (बिजले) निर्विरोध निर्वाचित भएका छन् । 

यस्तै खुला दलित सदस्यमा नेपाली कांग्रेसका रमेशराम कोली र खेमराज लुहार तथा नेकपा माओवादी केन्द्रका दलिराम विक निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालय पाटनले जनाएको छ । 

यो संगै २० सदस्यीय नगरकार्यपालिकामा नेपाली कांग्रेसका नगरप्रमुख सहित ९ जना, नेकपा माओवादी केन्द्रका उपप्रमु सहित सात जना र नेकपा एमालेका ४ जना अटाएका छन् । पाटन नगरकार्यपालिकामा कांग्रेस –माओवादी गठबन्धनको बहुमत भएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update