Sagun Khabar
बैतडीमा एक किशोरीमाथि बलात्कार, आरोपित व्यक्ति फरार 
सांकेतिक तस्बिर

बैतडी –बैतडीमा एक किशोरीमाथि बलात्कार भएको खुलेको छ । जिल्लाको मेलौली नगरपालिकाकी अन्दाजी १६ बर्षीया किशोरीमाथि तीन महिना पहिला बलात्कार भएपनि अहिले मात्रै जाहेरी आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

बलात्कारबाट किशोरी गर्भवती भएको थाहा भएपछि मात्रै बलात्कारको घटना बाहिर आएको हो । किशोरीमाथि मेलौली नगरपालिका २ का २२ बर्षीय अशोकबहादुर चन्दले बलात्कार गरेको आरोप लागेको छ । पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा चन्दको खोजी कार्य भईरहेको प्रहरी निरीक्षक जोशीले बताए । 

गएको फागुनमा किशोरीमाथि बलात्कार भएको जाहेरीमा उल्लेख गरेको र सोही जाहेरीका आधारमा आरोपित चन्दलाई पक्राउ गर्न अदालतबाट पक्राउ पूर्जी ल्याईसकेको प्रहरी निरीक्षक जोशीले बताए । फरार रहेका चन्दको खोजी कार्य भईरहेको उनले बताए । 

चन्द गएको स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी भएर काम समेत गरेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक जोशीले भने ‘हामीले पीडित किशोरीका आफन्तहरुले दिएको जाहेरीका आधारमा घटनाको अनुसन्धान गरिरहेका छौं । आरोपित चन्दको खोजी कार्यमा लागेका छौं ।’पीडित किशोरी अहिले आफन्तकै संरक्षणमा रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update