Sagun Khabar
बैतडीमा इजाजत बिनै सुर्तीजन्य पदार्थको विक्रिवितरण 
फोटो : पसलहरुमा अनुगमन गर्दै अनुगमन टोली

बैतडी –बैतडीमा सुर्तीजन्य पदार्थको विक्रिवितरण इजाजत बिना हुने गरेको छ । जिल्लाका सबै जसो स्थानमा सुर्तीजन्य पदार्थको विक्रिवितरण इजाजत बिना हुने गरेको पाइएको हो । सरकारले सुर्तीजन्य पदार्थको विक्रि वितरणका लागि इजाजत पत्र लिनुपर्ने र त्यसपछि मात्रै विक्रि वितरण गर्नुपर्ने नियम बनाएको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । 

सुर्तीजन्य पदार्थ विक्रिवितरण गर्दा अलगै ठाउँबाट गर्नुपर्ने र त्यो पनि इजाजत लिएर मात्रै गर्नुपर्ने भएपनि त्यसो नपाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

जिल्लाका विभिन्न स्थानमा अनुगमन गर्दा सुर्तीजन्य पदार्थ विक्रिका लागि इजाजत नलिएका व्यपारीहरुले समेत सुर्तीजन्य पदार्थको विक्रि वितरण भईरहेको उनले बताए । उनले भने ‘हामीले अनुगमन गरेका ठाउँमा धेरै जसोले इजाजत पत्र नलिइकनै सुर्तीजन्य पदार्थको विक्रि वितरण गरेको पाएका छौं । अनुगमन गरेका ठाउँमा व्यापारीहरुलाई सचेत पनि गराएका छौं ।’

जिल्लाका विभिन्न स्थानका १५ ओटा पसलमा अनुगमन गर्दा ५ जना व्यापारीले मात्रै इजाजत पत्र लिएर सुर्तीजन्य पदार्थको विक्रि वितरण गरेको पाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शंकर बोहराले बताए । 

अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन ) गर्ने ऐन २०६८ मा भएका व्यवस्थाका बारेमा समेत जानकारी दिइएको उनले बताए । ऐनमा सुर्तीजन्य पदार्थको विक्रि वितरणका लागि नेपाल सरकारबाट इजाजत पत्र लिनुपर्ने उल्लेख गरिएको छ । यस्तै अठार बर्ष मुनिका नागरिक, गर्भवती महिला, दीर्घ रोगी लगायतका मानिसलाई सुर्तीजन्य पदार्थको विक्रि वितरणमा रोक लगाइएको छ । 

यस्तै सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको विक्रि वितरण र प्रयोगमा रोक लगाइएको कुरा ऐनमा उल्लेख गरिएको छ । 

तर पनि यी नियमहरुको पालना भने कमै हुने गरेको पाइएको छ । अनुगमनका क्रममा सुर्तीजन्य पदार्थको विक्रि वितरणलाई व्यवस्थित बनाउन व्यापारीहरुलाई निर्देशन समेत दिइएको सूचना अधिकारी भारतीले बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update