Sagun Khabar
जिल्ला समन्वय समिति बैतडीको नेतृत्व कसले पाउला ? 

बैतडी –जिल्ला समन्वय समिति बैतडीको नयाँ नेतृत्व चयनका लागि जेठ २४ गते निर्वाचन हुँदैछ । स्थानीय तहमा कार्यपालिकाले पूर्णता पाएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो । 

एक जना प्रमुख, एकजना उपप्रमुख, तीन जना महिला सदस्य, तीन जना खुला सदस्य र एक जना दलित वा अल्पसंख्य सदस्य गरी ९ सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचनका लागि राजनीतिक दलहरुले समेत तयारी गरिरहेका छन् । 

जिल्ला समन्वय समितिको निर्वाचनका लागि स्थानीय तहका प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्ष मतदाता रहने प्रावधान छ । सो प्रावधान अनुसार कुनै दलसंग पनि प्रष्ट बहुमत देखिएको छैन् । 

बैतडीमा जिल्ला समन्वय समितिमा सत्तारुढ दलहरुले गठबन्धन गर्ने बताईरहेका बेला एमालेले पनि बाम गठबन्धन गर्ने बताएको छ । जिल्ला समन्वय समितिको नेतृत्वका लागि बाम दलहरुसंग गठबन्धन गर्ने तयारी भएको एमालेका जिल्ला सचिव चक्रबहादुर कार्कीले बताए । 

यता माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले भने अहिले सत्तारुढ दलसंगै गठबन्धन हुने स्पष्ट पारे । उनले भने ‘अहिले एमालेसंग तालमेल गर्ने कुनै योजना छैन् । कांग्रेससंगै गठबन्धन गरेर हामी अघि बढ्छौं ।’

नेपाली कांग्रेसले पनि जिल्ला समन्वय समितिको नेतृत्वका लागि माओवादी केन्द्रसंग गठबन्धन गरेर अघि बढ्ने बताएको छ । माओवादीसंगै गठबन्धन गरेर जिल्ला समन्वय समितिको निर्वाचनमा भाग लिने कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । 

बैतडीका जिल्ला समन्वय समितिका लागि नेपाली कांग्रेससंग ९ जना, एमालेसंग ८ जना, माओवादी केन्द्रसंग २ जना र एकजना स्वतन्त्र मतदाता रहेका छन् ।  
 

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update