Sagun Khabar
बैतडीका चार देवीका मन्दिरलाई पर्यटकीय स्थल बनाउने घोषणापछि स्थानीयबासी खुसी 

बैतडी –बैतडीमा रहेका चारओटा भगवतीका मन्दिरलाई पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन गर्ने सरकारले घोषणा गरेपछि स्थानीयबासी खुसी भएका छन् । सरकारले आउँदो आर्थिक बर्षको बजेट भाषणमा बैतडीका त्रिपुरासुन्दरी भगवती मन्दिर, निङ्गलाशैनी भगवती मन्दिर, मेलौली भगवती मन्दिर र डिलाशैनी भगवती मन्दिरलाई पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन गर्ने उल्लेख गरेको छ । 

पहिलो पटक जिल्लाका चारओटा देवीका मन्दिरमा बजेट भाषणमा अटाएकाले धार्मिक पर्यटकीय क्षेत्रको विकास हुने बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए । यो निर्णय निकै राम्रो भएको र यसलाई कार्यान्वयन तहमा लैजानुपर्ने उनले बताए । उनले भने ‘बैतडीका विभिन्न सम्भावना मध्ये धार्मिक पर्यटन पनि सम्भावना बोकेको क्षेत्र हो । यसमा सरकारको ध्यान गएको छ । यी मन्दिरहरुलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु आवश्यक छ ।’

बैतडीमा भगवतीका मन्दिर, केदारका मन्दिर, पातालभुवनेश्वर धाम लगायतका क्षेत्रहरु रहेका छन् । यस्ता क्षेत्रहरुलाई लक्षित गरेर सरकारले बजेट घोषणा गर्दा यो निकै राम्रो कुरा भएको नेपाली कांग्रेस बैतडीका उपसभापति बीरबहादुर बिष्टले बताए । धार्मिक पर्यटकीय क्षेत्रहरुको विकास गरी ग्रामीण अर्थतन्त्रसंग जोड्न सके यहाँका नागरिकको आयआर्जनमा टेवा पुग्ने उनले बताए । उनले भने ‘चार देवीका मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन योजना निकै राम्रो छ । यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानुपर्दछ ।’

बैतडी धार्मिक पर्यटनको प्रशस्त सम्भावना बोकेको जिल्ला भएकाले सरकारले बजेट भाषणा मार्फत यो क्षेत्रको विकासका लागि ध्यान दिएको जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक मानबहादुर चन्दले बताए । उनले भने ‘सरकारले बजेट व्यक्तव्य मार्फत भगवतीका मन्दिरहरुलाई पर्यटकीय स्थलको रुपमा विकसित गर्ने कुरा उल्लेख हुनु निकै सराहनीय छ ।’ 

देवीका मन्दिरहरुलाई धार्मिक पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन गर्ने कुरा निकै स्वागतयोग्य रहेको निङ्गलाशैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले बताए । देवीका मन्दिरहरुमा सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेकाले सरकारी घोषणाले थप सहयोग पुग्ने उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update