बैतडी –राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा बैतडीमा सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ । दशरथचन्द नगरपालिकाको आयोजनामा भएको अन्तरक्रियामा महिला अधिकारका बिषयमा छलफल भएको नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख लीला कुँवरले बताइन् ।
महिलाको सम्मान, सभ्य समाजको पहिचान भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । दिवसको अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले महिला हिंसा अन्त्यका लागि दिवसले मात्रै नपुग्ने भएकाले परिणाम देखिने गरेर काम गर्न आग्रह गरे । महिलामाथि हुने हरेक हिंसा अन्त्यका लागि उनीहरुको आर्थिक, सामाजिक सबै क्षेत्रमा पहुँच पुग्नुपर्ने उनले बताए ।
यस्तै नगरपालिकाका उपप्रमुख कौशिला चन्दले महिला अधिकार प्रत्याभूत हुने हिसाबले नगरपालिकाले काम गर्ने बताइन् । संविधान र कानुनमा महिलाका लागि भएका व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन गरेर महिलामाथि हुने हिंसा अन्त्य गर्ने उनले बताइन् ।
अन्तरक्रियामा अधिवक्ता हरिदत्त भट्ट र अधिवक्ता कर्णदत्त भट्टले महिला सम्बन्धि बनेका कानुन र अधिकारका बिषयमा छलफल गरेका थिए ।
नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा नवनिर्वाचित महिला सदस्य, संघसंस्थामा आवद्ध महिलाहरुको सहभागिता थियो ।




