Sagun Khabar
पाटन नगरकार्यपालिकाको प्रथम बैठक सम्पन्न, के के भए निर्णय ?

बैतडी –विभिन्न निर्णयहरु पारित गर्दै पाटन नगरकार्यपालिकाको प्रथम बैठक सम्पन्न भएको छ । नगरपालिकाभित्र सेवाका लागि आउने नागरिकलाई सहयोग होस भनेर हेल्प डेस्क सञ्चालन गर्नुका साथै डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याउने निर्णय भएको छ । 

यस्तै किसानहरुलाई भैंसीपालन व्यवसायमा आकर्षित गर्नका लागि अनिवार्य पशुबीमा कार्यक्रम सञ्चालन गर्ने, नगर क्षेत्रभित्रका खोका छाप्राहरुलाई करको दायरमा ल्याउन विज्ञ समिति गठन गर्ने, नगर क्षेत्र भित्रका प्रत्येक विद्यालयमा योग शिक्षा सञ्चालन गर्ने, मुख्य बजारहरुमा महिनाको एक दिन हाट बजार सञ्चालन गर्ने र नगरपालिका कार्यालय सञ्चालनमा आवश्यक फर्निचर लगायतका सामग्री खरीद गर्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिने निर्णय भएको छ । 

यस्तै शव वाहन खरीद गर्ने र नगर क्षेत्र भित्र निशुल्क रुपमा शव वाहन उपलब्ध गराउने, नगर क्षेत्रभित्रका योजनाहरुको लागत स्टमेट नेपाली र अंग्रेजी दुवै भाषामा तयार पार्ने, उपभोक्ता समितिको प्रमुख पदमा महिलालाई प्राथमिकता दिने, पाटन नगरपालिकाको लोगो निर्माण गर्ने, नगर प्रमुख शैक्षिक कार्यक्रम अन्तर्गत विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने, पूर्ण स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने, भारतमा काम गर्ने नगर क्षेत्रभित्रका मजदुरहरुको दुर्घटना बीमा गर्ने र सुर्नया नदीमा ढुंगा,बालुवा, गिट्टी उत्खनन कार्य अर्को सूचना नहुन्जेल सम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update