बैतडी –वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवारहरुलाई चुनावमा भएको खर्च विवरण बुझाउन जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ ।
जिल्ला निर्वाचन कार्यालयले एक सूचना जारी गर्दै उम्मेदवारहरुले निर्वाचन भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्च विवरण बुझाउनुपर्ने प्रावधान रहेकाले सोही अनुसार खर्च विवरण बुझाउन आग्रह गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालले बताए ।
पालिका चुनावमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदका सबै उम्मेदवारहरुले खर्च विवरण पेश गर्नुपर्ने फुयालले बताए । बैतडीमा पालिका चुनावमा १ हजार ४ सय ८ जना उम्मेदवार रहेका थिए ।
३० दिनभित्र चुनावमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कानुन अनुसार कारवाही गर्ने समेत जिल्ला निर्वाचन अधिकारी फुयालले बताए ।
उम्मेदवारहरुले आफू स्वयं उपस्थित भएर अथवा प्रतिनिधि मार्फत जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने निर्वाचन कार्यालयले जनाएको छ ।




