बैतडी –बैतडीमा ३ महिना अगाडि बलात्कृत भएकी भनिएकी किशोरीको पेटमा ८ महिनाको बच्चा रहेको पाइएको छ । जिल्लाको मेलौली नगरपालिकाकी १६ वर्षीया ती किशोरीको स्वास्थ्य परीक्षण गर्दा उक्त कुरा खुलेको हो ।
किशोरीमाथि गत फागुनमा जबरजस्तीकरणी भएको भन्दै जेठ १४ गते आफन्तहरुले जाहेरी दिएका थिए ।
किशोरीकै भदु नाता पर्ने मेलौली २ का २२ बर्षीय अशोकबहादुर चन्दले किशोरीमाथि जबरजस्तीकरणी गरेको जाहेरी प्रहरीमा परेको थियो । किशोरीको स्वास्थ्य परीक्षण गर्दा उनको पेटमा आठ महिनाको शिशु रहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
तर पीडित किशोरीले भने आफुमाथि असोजमा नै जबरजस्तीकरणी भएको बताएकी छिन् । माइती नेपाल धनगढीको संरक्षणमा रहेकी किशोरीले सो कुरा बताएकी हुन् ।
आरोपित अशोकबहादुर चन्द भने फरार रहेका छन् । आरोपित चन्दको खोजी भईरहेको प्रहरी प्रवक्ता जोशीले बताए । उनले भने ‘हामीले यो घटनाको अनुसन्धान गरिरहेका छौं । यो बिषयमा धेरै बोल्न मिल्दैन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।’




