बैतडी –गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट बैतडीका चारओटा स्थानीय तहको प्रमुखमा पुराना जनप्रतिनिधि दोहोरिएका छन् । पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा गोरखबहादुर चन्द, शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउँद, सिगास गाउँपालिकाको अध्यक्षमा हरिसिंह धामी र दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा चक्रबहादुर कार्की दोहोरिएका हुन् ।
साउँद र धामी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने चन्द र कार्की नेकपा एमालेबाट निर्वाचित भएका हुन् । दोश्रो कार्यकालका लागि निर्वाचित भएका जनप्रतिनिधिहरुले पुराना योजनालाई पूर्णता दिएर समुन्नत पालिका बनाउने दाबी गरेका छन् ।
पहिलो कार्यकालमा घोषणा गरेका ८० प्रतिशत काम पूरा भएका र अब बाँकी रहेका कामहरुलाई प्राथमिकतामा राखेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । उनले भने ‘हामीले पहिलो कार्यकालमा गाउँगाउँमा सडक विस्तार गरिसकेका छौं । अब ती सडकहरुलाई स्तरोन्नती गर्ने हाम्रो लक्ष्य छ ।’
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा जोड दिइने अध्यक्ष साउँदले बताए ।
पञ्चेश्वर गाउँपालिकालाई नमूना बनाउन आफूले काम गर्ने अध्यक्ष गोरखबहादुर चन्दले बताए । पहिलो कार्यकालमा अधुरा रहेका कामहरुलाई प्राथमिकतामा राखेको उनले बताए । शिक्षा, स्वास्थ्य, कृषिका क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए ।
यस्तै दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले पहिलो कार्यकालमा विकासको जग बसेको र त्यसलाई पूर्णता दिने आफ्नो योजना रहेको बताए । उनले भने ‘हामीले कृषिका क्षेत्रमा केही जग बसालेका छौं । कृषि मार्फत आत्मनिर्भर बनाउने योजनालाई प्राथमिकतामा राखेका छौं ।’
यस्तै सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले गाउँपालिकाभरीका वडाहरुमा विद्युत सेवा विस्तार गर्ने योजना रहेको बताए । यस्तै बाँकी रहेका ठाउँमा सडक सञ्जाल जोड्ने आफ्नो लक्ष्य रहेको उनले बताए ।




