Sagun Khabar
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा एक्सरे सेवा सुचारु 

बैतडी –बैतडीको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सुचारु भएको छ । आवश्यक सामग्रीको अभावमा केही महिनादेखि बन्द रहेको एक्सरे सेवा सामग्रीको आपूर्तीसंगै सञ्चालनमा आएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले बताए । 

नवनिर्वाचित मेयर भीमबहादुर चन्द (भुकम्प)को पहलमा एक्सरेका लागि आवश्यक सामग्रीको व्यवस्थापन भएपछि एक्सरे सेवा सञ्चालनमा आएको दयालले बताए । मेलौलीमै एक्सरे सेवा सञ्चालन भएपछि चोटपटक लागेका तथा अन्य बिरामीहरुका लागि सजिलो भएको छ । एक्सरेकै लागि जिल्ला अस्पताल बैतडी तथा डडेल्धुरा अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य भएको दयालले बताए । 

प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा पुनः सुचारु भएपछि स्थानीय नागरिक पनि खुसी भएका छन् । स्थानीयस्तरमै एक्सरे सेवा सुचारु भएपछि नागरिकलाई सजिलो भएको स्थानीय धरमसिंह दयालले बताए । 
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बीमा कार्यक्रमको पनि सूचीकृत स्वास्थ्य संस्था भएकाले बीमा गरेका बिरामीहरुलाई समेत सजिलो भएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update