बैतडी–यही जेठ २४ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि खगेन्द्रसिंह धामीलाई प्रमुख पदको उम्मेदवार बनाउने नेपाली कांग्रेसले निर्णय गरेको छ । नेपाली कांग्रेस बैतडीका उपसभापति समेत रहेका धामीलाई जिल्ला समन्वय समितिको प्रमुखका लागि उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले बताए ।
धामीको नाम सर्वसम्मत रुपमा पार्टीको प्रदेश कार्यसमितिमा पठाएको चन्दले जानकारी दिए । जिल्ला समन्वय समितिमा माओवादीसंग गठबन्धन गरेर अघि बढ्ने सहमति अनुसार उपप्रमुख पद भने माओवादीको भागमा परेको चन्दले बताए ।
जिल्ला समन्वय समितिको निर्वाचनका लागि बैतडीमा भोलिदेखि निर्वाचन प्रक्रिया शुरु हुँदैछ । भोलि मतदाताको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । जेठ २१ गते मनोनयन दर्ता र जेठ २४ गते मतदान हुनेछ ।
समन्वय समितिको निर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने प्रावधान रहेको छ ।
स्थानीय तहको निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुले समन्वय समितिका लागि उम्मेदवार हुन पाउने प्रावधान रही आएको छ । एकजना प्रमुख, एकजना उपप्रमुख, तीन जना महिला सदस्य, तीन जना खुला सदस्य र एकजना दलित वा अल्पसंख्यक सदस्य गरेर ९ सदस्यीय समितिका लागि चुनाव हुने भएको छ ।
नेपाली कांग्रेसबाट प्रमुख पदका लागि उम्मेदवार बनाइएका धामी सिगास गाउँपालिका वडा नं ४ को वडा सदस्यमा निर्वाचित भएका थिए । अन्य सदस्यहरुको उम्मेदवार कसलाई बनाउने र माओवादीको भागमा कति सदस्य पर्ने भन्ने बिषय अझै टुंगो लाग्न बाँकी रहेको कांग्रेस कोषाध्यक्ष चन्दले बताए ।
बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि नेपाली कांग्रेससंग ९ जना, एमालेसंग ८ जना, माओवादी केन्द्रसंग २ जना र एक जना स्वतन्त्र मतदाता रहेका छन् । यसरी हेर्दा कांग्रेस र माओवादीको गठबन्धन हुँदा समन्वय समितिमा गठबन्धनकै जित हुने निश्चित देखिएको छ ।




